University of Wisconsin–Madison

नेपाली / NEPALI

समन्याय, विविधता, समावेशीकारण र भलाइ UW–Madison को कर्मचारी अनुभवको आधारभूत तत्त्वहरू हुन् । समन्याय, विविधता र समावेशीकरणको कर्मचारी भलाइसँगको अटुट सम्बन्धलाई पहिचान गर्न एकदम महत्त्वपूर्ण छ । कर्मचारीहरू जसको भावनात्मक, मानसिक, शारीरिक वा सामाजिक भलाइले उनीहरूलाई आफ्नो काममा असल तरिकाले र सफलतापूर्वक संलग्न हुनबाट रोक्छ, उनीहरू क्याम्पसमा बढ्न र उन्नति गर्न सक्दैनन् र उनीहरूले काम छोड्ने सम्भावना बढ्न सक्छ । यो कुरा विशेष गरी क्याम्पसमा सीमान्तकृत गरिएका र कम प्रतिनिधित्व पाएका कर्मचारीहरूको लागि साँचो छ ।

समन्याय र कर्मचारीहरूको भलाइ हासिल गर्न, हामी कर्मचारीहरूको लागि समान र स्वस्थ कार्य नीतिहरू, वातावरण र अभ्यासहरू बनाएर दिगो बनाउन समग्र, सम्पूर्ण व्यक्ति र सम्पूर्ण शरीर दृष्टिकोणहरू मार्फत हाम्रा कर्मचारीहरूको मानवतालाई केन्द्रित गर्ने प्रयास गर्दछौं ।

समुदायहरू

समुदायहरू मानव अनुभवमा केन्द्रीय भूमिका खेल्दछन् र सम्बन्ध बनाउने बाटो हुन् । बलियो समुदायहरूले सम्बन्धको महत्त्वपूर्ण बिन्दुहरू प्रदान गर्दछन् र हाम्रो सम्बन्ध, हेरचाह, सहकार्य, बढुवा र रूपान्तरणको मान्यताहरूमा योगदान पुर्‍याउँदछन् ।

कालो, आदिवासी र अरू वर्णको व्यक्तिहरूको (BIPOC) कर्मचारी नेटवर्क

के हो

कालो, आदिवासी र अरू वर्णको व्यक्तिहरूको (BIPOC) कर्मचारी नेटवर्क मा BIPOC कर्मचारीहरू, वकालत र सामुदायिक निर्माणमा असर गर्ने समस्याहरूको जागरूकता बढाएर UW–Madison कर्मचारीहरूको समग्र कामको अनुभव सुधार गर्न केन्द्रित क्याम्पस कर्मचारीहरूको एक समूह हो । यो समूहले सबै रोजगारी वर्गहरूलाई समावेश गर्न काम गर्दछ र विश्वविद्यालय वा कुनै विशेष शैक्षिक वा कार्य युनिटको प्रतिनिधित्व गर्दैन ।

BIPOC कर्मचारीहरूको सामुदायिक भेलाहरू

क्याम्पस सरोकारवालाहरूसँगको साझेदारीमा, BIPOC कर्मचारी नेटवर्कले क्याम्पसमा BIPOC कर्मचारीहरूका लागि मासिक सामुदायिक भेलाहरूको योजना र आयोजना गर्दछ । यी भेलाहरू क्याम्पसमा कार्यरत BIPOC कर्मचारीहरूको सम्बन्ध, हेरचाह, र व्यक्तिगत, अन्तरव्यक्तिगत र सामूहिक भलाइको लागि बनाइएको हो ।

सम्पर्क

BIPOC कर्मचारी नेटवर्कको बारेमा थप जानकारीका लागि वा यस नेटवर्कको प्रयासहरूको समर्थन गर्नका लागि कृपया यहाँ ईमेल पठाउनुहोला: eiew@ohr.wisc.edu

OutPages निर्देशिका

के हो

OutPages निर्देशिकाले LGBTQ+ संकाय र कर्मचारीहरूसँगको सहकार्यमा व्यवसायिक सम्बन्ध र मेन्टरको अवसरहरूको प्रोत्साहन गर्न र अन्लाईन खोज्न मिल्ने प्रोफाइलहरू बनाउन चाहन्छ । निर्देशिका हेर्नको लागि NetID लग इन चाहिन्छ ।

भलाइ

व्यक्तिगत भलाइ

व्यक्तिगत भलाइ तीनवटा फराकिलो, अन्तरसम्बन्धित वर्गहरूमा आधारित छन् (क) व्यक्तिगत लक्ष्य र आकाङ्क्षाहरू, (ख) व्यक्तिगत मानव अधिकार र आवश्यकताहरू समान रूपमा पूरा भएको र (ग) समुदायप्रतिको व्यक्तिगत योगदान र सम्बन्ध ।

मानसिक स्वास्थ्य

मानसिक स्वास्थ्यले जीवनको तनावसँग सामना गर्ने, हाम्रो आफ्नै क्षमताहरू महसुस गर्ने, राम्रोसँग सिक्ने र काम गर्ने र अर्थपूर्ण तरिकाले हाम्रो समुदायमा योगदान पुर्‍याउने हाम्रो क्षमतालाई बुझाउँछ । मानसिक स्वास्थ्य आधारभूत मानव अधिकार हो र हाम्रो समग्र स्वास्थ्यको अभिन्न अङ्ग हो । यसबाहेक, मानसिक स्वास्थ्यले निर्णय लिन, सम्बन्ध कायम राख्न र हामी बस्ने संसारलाई आकार दिन हाम्रो व्यक्तिगत र सामूहिक क्षमतालाई बलियो बनाउँछ (विश्व स्वास्थ्य संगठन) । मानसिक स्वास्थ्यको जटिल दायरा हुन्छ र विभिन्न कारकहरूको आधारमा विभिन्न व्यक्तिहरूद्वारा फरक रूपमा अनुभव गरिन्छ, जसमा आघात (पुस्तागत आघात पनि समावेश), कलङ्क र मानसिक स्वास्थ्य र लागुपदार्थ दुरुपयोगको लागि बनाइएका सेवाहरूको पहुँचको विभिन्न श्रेणीहरू समावेश छन् ।

ऐतिहासिक रूपमा सीमान्तकृत जातीय समूहहरू चिकित्सा, मनोविज्ञान र परामर्शको क्षेत्रमा जातिवादको अधीनमा रहेका छन्, जसले मानसिक स्वास्थ्य परिणामहरूमा जातीय असमानता र असमन्याय निरन्तरता दिन्छ ।

क्याम्पसका स्रोतसाधनहरू

  • कर्मचारी सहायता कार्यालय

    कर्मचारी सहायता कार्यालय (EAO) ले UW–Madison का कर्मचारीहरूका लागि परामर्श सेवा प्रदान गर्दछ ।

  • LifeMatters

    LifeMatters ले तालिम, अर्थ र कानुनी परामर्श, समय जोगाउने खोजीहरू, व्यक्तिगत वा काम सम्बन्धी समस्याहरूका लागि परामर्शदातासँग १ देखि ५ पटकसम्मको भेटघाटहरू र कार्यस्थल सरोकारहरूको लागि व्यवस्थापन परामर्श सहित विभिन्न स्रोतसाधनहरू प्रदान गर्दछ ।

  • आत्महत्या रोकथाम: पहिचान गर्ने, प्रतिक्रिया दिने, सिफारिश गर्ने

    आत्महत्याको सामान्य चेतावनी सङ्केतहरू पहिचान गर्ने र समर्थन र स्रोतसाधनहरूको आवश्यकता परेको व्यक्तिलाई प्रतिक्रिया दिन र सिफारिश गर्न रणनीतिहरूको समीक्षा गर्ने बारे थप जानकारी पाउनुहोस् ।

  • कर्मचारी मानसिक स्वास्थ्य समर्थन गर्ने

    आफ्ना विद्यार्थी र कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई समर्थन गर्दा प्रबन्धक र सल्लाहकारहरूलाई उनीहरूको आफ्नै मानसिक स्वास्थ्यको हेरचाह गर्न सहयोग गर्ने स्रोतसाधनहरू ।

  • Ombuds

    Ombuds कार्यालयले कर्मचारीहरूसँग काम गरेर गुनासोहरूको छलफल गर्न, समस्याहरू स्पष्ट पार्न र चिन्ताहरू सम्बोधन गर्न विकल्पहरू र स्रोतसाधनहरू थाहा पाउन गोपनीय ठाउँ प्रदान गर्दछ ।

आर्थिक भलाइ

आर्थिक भलाइ भनेको त्यस्तो अवस्था हो जहाँ कुनै एक व्यक्तिले अहिले र चलिरहेको आर्थिक दायित्वहरू पूर्ण रूपमा पूरा गर्न सक्दछन्, आफ्नो आर्थिक भविष्यमा सुरक्षित महसुस गर्न सक्दछन् र आफ्नो जीवन रमाइलोसँग बिताउन सक्ने गतिविधिहरू रोज्न सक्दछन् ।

शारीरिक भलाइ

शारीरिक भलाइ भनेको स्वस्थ जीवनको गुणस्तरता कायम राख्ने क्षमता हो जसले हामीलाई अनावश्यक थकान वा शारीरिक तनाव बिना हाम्रो दैनिक गतिविधिहरूबाट अधिकतम फाइदा उठाउन सहयोग गर्दछ ।

  • कर्मचारी अशक्तता स्रोतसाधनहरू

    कर्मचारी अशक्तता स्रोतसाधनहरू (EDR) कार्यालय कर्मचारी र आवेदकहरूको लागि अशक्तता व्यवस्थापन प्रक्रियामा जानकारीको क्याम्पसव्यापी केन्द्रको रूपमा काम गर्दछ ।

  • क्याम्पस फ्लू क्लिनिकहरू

    विश्वविद्यालय स्वास्थ्य सेवा (UHS) ले वार्षिक क्याम्पस फ्लू क्लिनिकहरू आयोजना गर्दछ जुन सबै विद्यार्थी र कर्मचारीहरूका लागि उपलब्ध हुन्छन् ।

  • बिरामी साझेदारी केन्द्र

    बिरामी साझेदारी केन्द्रले विस्कन्सिनका जीवन बदल्ने स्वास्थ्य घटनाहरूको सामना गरिरहेका र लिङ्ग स्वीकार गर्ने स्वास्थ्य हेरचाह खोज्ने व्यक्तिहरूका लागि बिरामीको वकालत सेवाहरू प्रदान गर्दछ ।

  • लिङ्ग समावेशी शौचालयहरू

    लिङ्ग समावेशी शौचालयहरूले पारलिङ्गी र लैङ्गिक गैर अनुरूपी (gender nonconforming) व्यक्तिहरूको लागि उत्पीडन बिना क्याम्पमा शौचालय चलाउन ठाउँ दिन्छ । यी शौचालायाहरूले साना बालबालिका भएका परिवार र व्यक्तिगत हेरचाह सहायकको काम लगाउने व्यक्तिहरूलाई पनि समर्थन गर्दछन् ।

  • Outdoor UW

    Outdoor UW ले सबै किसिमका रुचि र स्तरहरूको लागि उपयुक्त विभिन्न बाहिरी गतिविधिहरू प्रदान गर्दछ ।

  • University Recreation and Well-Being

    विश्वविद्यालय खेलकुद र भलाइ (Rec Well) ले विद्यार्थी र कर्मचारीहरूका लागि स्वस्थ गतिविधि र बानीहरूलाई बढावा दिने कार्यक्रमहरू, सेवाहरू र सुविधाहरू प्रदान गर्दछ ।

  • भलाइ तालिम

    Rec Well ले समग्र स्वास्थ्य र कल्याण लक्ष्यहरू सँगै बनाउन क्याम्पसमा विद्यार्थी र कर्मचारीहरूलाई भलाइ तालिमका समयहरू प्रदान गर्दछ ।

  • Well Wisconsin स्वास्थ्य जाँचहरू

    Well Wisconsin कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो स्वास्थ्य मूल्याङ्कन गर्न, अर्थपूर्ण स्वास्थ्य र भलाइ लक्ष्यहरू बनाउन र यी लक्ष्यहरू हासिल गर्न सिक्ने अवसरहरूमा संलग्न हुने अवसरहरू प्रदान गर्दछ ।

    UW कर्मचारी, अवकाश पाएका कर्मचारी र वहाँहरूका जीवनसाथीहरू जो अहिले विस्कन्सिन राज्यको सामूहिक स्वास्थ्य बीमा योजनामा भर्ना हुनुभएको छ, वहाँहरू Well Wisconsin कार्यक्रममा भाग लिन योग्य हुनुहुन्छ । कर्मचारीहरूले भाग लिएर वर्षै पिच्छे रकम कमाउन सक्नुहुन्छ ।

अन्तरव्यक्तिगत भलाइ

अन्तरव्यक्तिगत भलाइले सकारात्मक सञ्जाल, समर्थन प्रणाली र समुदायहरू बनाउन आफू र अरू बीचको स्वस्थ सम्बन्धलाई जनाउँदछ ।

पारिवारिक हेरचाह

क्याम्पसमा धेरै कर्मचारीहरूले आफ्ना छोराछोरी, नातेदार, पार्टनर वा साथीहरूलाई हेरचाह वा सहायता प्रदान गरिरहेका छन् । हेरचाह गर्ने जिम्मेवारीहरू भएका कर्मचारीहरूलाई यी जिम्मेवारीहरू र काम सन्तुलनमा राख्न आवश्यक छ ।

  • बालबच्चा हेरचाह र पारिवारिक स्रोतसाधनहरूको कार्यालय

    बालबच्चा हेरचाह र पारिवारिक स्रोतसाधनहरूको कार्यालयले प्रारम्भिक शिक्षा र परिवार समर्थन कार्यक्रमहरू र सेवाहरूको प्रशासन र समर्थन प्रदान गर्दछ ।

  • परिवार हेरचाह समर्थन

    महामारीको कारणले विशेष गरी थप पारिवारिक हेरचाह जिम्मेवारीहरू थपिएका कर्मचारीहरू र सुपरभाइजरहरूका लागि कार्यस्थलको लचिलोपनासँग सम्बन्धित लागि सूचना, स्रोतसाधन र समर्थन ।

  • स्तनपान कक्ष

    क्याम्पसमा रहेका स्तनपान अनुकूल ठाउँहरूको सूची र नक्सा ।

नाम र सर्वनामहरू

सर्वनामहरू यस्ता शब्दहरू हुन् जुन हामीले कसैको नाम वा शीर्षकको सट्टा चलाउँदछौं र अङ्ग्रेजी भाषामा सर्वनामहरू लिङ्गको पहिचानको लागि चलाइन्छ । कोही पारलिङ्गी, लैङ्गिक क्वयेर, इत्यादि “हेर्दा” नदेखिएतापनि सो व्यक्तिले कुन सर्वनामहरू चलाउँदछन् भनेर तपाईंले वहाँहरूलाई हेरेर थाहा पाउन सक्नुहुँदैन । कसैको सर्वनामहरू सही रूपमा चलाउन महत्त्वपूर्ण छ किनभने यसो गर्दा तपाईंले सो व्यक्तिको सम्मान गर्नुहुन्छ भन्ने देखाउँदछ । (UW-Madison Gender and Sexuality Campus Center)

काममा भलाइ

  • Accessibility@UW

    पहुँच र अशक्तताका स्रोतसाधनहरूको लागि एक केन्द्रीय ठाउँ ।

  • गम्भीर घटनाको तनावको सामना गर्ने

    तनावका सङ्केत र लक्षणहरूको बारेमा थप जानकारी पाउनुहोस् र तनावसँग सामना गर्ने तरिकाहरू खोज्न थाल्नुहोस् ।

  • सांस्कृतिक भाषागत सेवा (CLS)

    सांस्कृतिक भाषागत सेवाले क्याम्पसका विभाग र कर्मचारीहरूका लागि हाम्रो विविध, बहुभाषीय कामको वातावरणमा सञ्चार, सांस्कृतिक समझदारी र सिक्ने अवसर बढाउने सेवाहरू प्रदान गर्दछ ।

  • कर्मचारी सहायता कार्यालय (EAO) तालिम

    EAO ले कठिन कुराकानीहरू, आत्म-हेरचाह, आत्महत्या रोकथाम, इम्पोस्टर सिन्ड्रोम र कुराकानीहरू प्रबन्ध गर्नमा केन्द्रित कार्य युनिट र अन्य समूहहरूलाई तालिम प्रदान गर्दछ । म्यानेजर र सुपरभाईजरहरू, डीन र निर्देशकहरू, मानव संसाधन पेशेवरहरू, भलाइ समितिहरू, सम्मेलन आयोजकहरू र अन्य व्यक्तिहरूले तालिमको अनुरोध गर्न सक्दछन् ।

  • झगडालु र धम्काउने व्यवहार

    झगडालु र धम्काउने व्यवहार के हो र यस व्यवहारलाई सम्बोधन गर्ने स्रोतसाधनहरू कहाँ र कसरी खोज्ने भन्ने बारे थप जानकारी पाउनुहोस् । जानकारी अङ्ग्रेजी, स्पैनिश, मङ, तिब्बती र चिनियाँ भाषाहरूमा उपलब्ध छन् ।

  • LifeMatters

    LifeMatters ले तालिम, अर्थ र कानुनी परामर्श, समय जोगाउने खोजीहरू, व्यक्तिगत वा काम सम्बन्धी समस्याहरूका लागि परामर्शदातासँग १ देखि ५ पटकसम्मको भेटघाटहरू र कार्यस्थल सरोकारहरूको लागि व्यवस्थापन परामर्श सहित विभिन्न स्रोतसाधनहरू प्रदान गर्दछ ।

  • Remote Work

    कर्मचारीहरूका लागि कार्यस्थल बाहेक अन्तैबाट गर्न मिल्ने काम (remote work) को लागि मार्गदर्शन र स्रोतसाधनहरू ।

  • Working at UW

    Working at UW ले क्याम्पसको स्रोतसाधनहरू थाहा पाउन र महत्त्वपूर्ण समाचारहरू पाउन चाहने कर्मचारीहरूको लागि केन्द्रीय ठाउँ प्रदान गर्दछ । यो वेबसाईटले समाचार, उपकरण र सेवाहरू प्रदान गर्दछ जसले कर्मचारीहरूलाई अझ प्रभावकारी हुन र क्याम्पसमा आफ्नो भूमिकासँग अझै जोडिएको महसुस गर्न सहयोग गर्दछ ।

सम्पर्क

समन्याय, समावेशीकरण र कर्मचारी भलाइ कार्यालय (Office of Equity, Inclusion and Employee Well-Being) ले स्वास्थ्य, समन्यायमूलक र समावेशी नीतिहरू, प्रणाली र वातावरण बनाउन काम गर्ने विद्यालय, कलेज, विभाजन र युनिटहरूलाई परामर्श, समर्थन र स्रोतसाधनहरू प्रदान गर्दछ ।

समन्याय, समावेशीकरण र कर्मचारी भलाइ कार्यालयले तलका परामर्श, समर्थन र स्रोतसाधनहरू प्रदान गर्दछ:

  • रणनीतिक योजना र दृष्टिकोण
  • संगठनात्मक लक्ष्य र प्राथमिकताहरू
  • नीति, प्रणाली र वातावरणीय हस्तक्षेपहरू
  • कर्मचारी क्षमता निर्माण र तालिम
  • डाटा र मूल्याङ्कन

समन्याय, समावेशीकरण र कर्मचारी भलाइ टोलीलाई eiew@ohr.wisc.edu मार्फत सम्पर्क गर्नुहोला ।

Did you find what you need?